नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले टिकट काटिसकेका ३१ जना यात्रुलाई छाेडेर दुबई उडेको विषयमा क्षमा मागेको छ । यसबारे आन्तरिक छानबिन गरी कारबाही गर्न निगमका वाणिज्य विभाग प्रमुखलाई निर्देशन समेत दिएको छ ।बिहीबार दिउँसो नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले विज्ञप्ति निकालेर यात्रुहरुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै ती सबै यात्रुहरुलाई वैकल्पिक उडानबाट गन्तव्यमा पुर्याउने प्रबन्ध मिलाइएको जनाएका छन् ।

नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ जहाजले बुधबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा सोही उडानमा टिकट काटेका ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको थियो । ती यात्रुहरुलाई होटलमा लगेर राखिएको थियो ।
साथै यस्ता घटना फेरि दोहोरिन नदिन र आन्तरिक छानबिन गरी कारबाही गर्न निगमका अध्यक्ष युवराज अधिकारीले वाणिज्य विभाग प्रमुखलाई विशेष निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ । नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ को फ्लाइट बुधबार राति साढे ११ बजे उड्ने भनिएको थियो । तर जहाज दुई घण्टा अघि (साढे ९ बजे) नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई उडेको थियो । उडान समय अघि सरेको पूर्वजानकारी नपाउँदा ३१ जना यात्रुहरु छुटेर जान पाएका थिएनन् ।
















