काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ ।
सोमवारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा १० लाख रुपैयाँको लागतमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखिएको हो । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आजबाट सञ्चालनमा ल्याइएको हो ।सञ्चालनमा आएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले बटन थिचेपछि ५ सेकेण्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेण्डभित्र पैदलयात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्ने बताउनु भयो ।
उहाँले प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्ने र प्रयोग गर्न जान्दा राम्रो हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाद्वारा आम नागरिकका लागि राखिएको ट्राफिक लाइट हो । यसलाई थिचिसकेपछि यसले सहज रुपमा जुन तोकिएको समय छ, अहिले ३० सेकेण्ड राखिएको छ । त्यो थिचेपछि ५ सेकेण्ड कुुर्नुपर्छ, त्यो कुरेपछि हरियो बत्ती बल्छ, पैदलयात्रुका लागि । ३० देखि ३५ सेकेण्ड तोकिएको समयमा क्रस गरिसक्नुपर्छ । यो उपयुक्त छ र यसलाई प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्छ, प्रयोग गर्न जान्दा त्यसले सूचना देखाउँछ, त्यसलाई ख्याल गरेर बाटो काट्नुपर्छ ।’
















