पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन्। बिर्तामोडस्थित ई कम कलेजमा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्वराजा ज्ञानेन्द्र झापा पुगेका राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले साझा पोष्टलाई जानकारी दिए ।
झापा पुगेर उनी धुलाबारीको होटल मेची क्राउनमा बसेका छन् । त्यहाँ उनले आजै केही भेटघाट गरेका छन, भने शनिवार विहान पनि भेटघाट गर्नेछन् । भोलि शनिबार धुलाबारीस्थित निम्जा खोलाबाट उनको स्वागतमा ७ हजार मोटरसाइकलको र्याली गरिने श्रेष्ठले बताए ।
बिर्तामोडमा पूर्वराजा शाहले ३० देखि ४५ मिनेट हिँडेर सर्वसाधारणसँग भेट गर्ने कार्यक्रम पनि रहेको उनले जानकारी दिए । ‘कम्तीमा ३० हजार जनताले राजालाई स्वागत गर्नेछन् ।’ उनले भने, भोलि विशेष हुन्छ ।’
राजतन्त्र पुनःस्थापनाको माग गर्दै दुर्गा प्रसाईंको समूहले प्रदर्शन गरेको भोलिपल्टै राप्रपाले पूर्वराजा ज्ञानेन्द्रलाई झापाको भ्रमण गराउन लागेको हो। राजसंस्थावादी दल भएकोले कार्यक्रम सफल पार्न राप्रपा लागेको र त्यसै अनुसार तयारी भैरहेको श्रेष्ठले बताए । त्यसका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेन पनि झापामा छन् । तर राप्रपा प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको झण्डा र ब्यानर केही पनि प्रयोग गरिने छैन ।