शुक्रबार दिउँसो तीनकुनेमा सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाई भक्तपुरस्थित आफ्नो निवासबाट बाहिर निस्किएका छैनन् । घरैमा प्रहरी तैनाथ गरिएको र बाहिर निस्कन नदिएको उनले बताएकमा छन् । आफूलाई गिरफ्तार गरे पनि कार्यक्रम नरोकिने प्रसाईको भनाइ छ ।
तर, काठमाडौं जिल्ला प्रशासन कार्यालयले भने प्रसाईलाई घर बाहिर निस्कन निषेध नगरेको जनाएको छ । त्रिभुवन विमानस्थलको छेवैमा रहेको तीनकुनेमा हिंसा भड्काउने अभिव्यक्ति दिने खालको प्रदर्शनमा भने रोक लगाइएको जिल्ला प्रशासनको भनाइ छ ।
दुर्गा प्रसाईले शुक्रबार ११ बजे भात खाएर तीनकुनेमा भेला हुन समर्थकहरुलाई आग्रह गरेका थिए । १० बजे गौशालामा भेला भएर तीनकुनेतर्फ आउने प्रसाईका समर्थकहरुको तयारी थियो ।
तर, सो क्षेत्रमा अहिले सुरक्षाकर्मीहरु तैनाथ गरिएका छन् । यातायातका साधन निर्वाध चलिरहेका छन् । ११ बजेसम्म प्रदर्शनकारीहरु देखिएका छैनन् ।