दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समिति बैठकले उक्त निर्णय गरेको हो ।
कोरियामा मजदुर अभावलाई कम गर्नका लागि अहिलेसम्मकै बढी विदेशी कामदारलाई ल्याउन लागेको हो । दक्षिण कोरियाले नेपाल, पाकिस्तात, श्रीलंका, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्वेकस्थान, कम्बोडियासहित १६ वटा देशबाट विदेशी कामदार ल्याउने गर्छ ।
सन् २०२४ का लागि तोकिएको १ लाख ६५ हजार कामदारमध्ये नयाँ कामदार १ लाख ४२ हजार ५ सय ३० जना आउने छन् । कामदार मध्ये २१ हजार ४ सय ६० जना कोरियामा एक कार्यावधि काम गरेका प्रतिबद्ध कामदार हुनेछन् । एक वर्ष कुनै कम्पनीमा निरन्तर काम गरे कम्पनीले चाहेमा कमिटेड कामदारको रुपमा डाक्न सक्ने नियम छ । कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेर पहिलो पटक कोरिया आउने नयाँ कामदारको रुपमा रहने छन् ।