साझेदारी गर्नुहोस्

फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिललाई १–० ले हराएको छ । चिरप्रतिद्वन्द्वी ब्राजिललाई उसैको मैदानमा हराउँदै तीन अंक बटुल्यो ।

फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको यो पाँचौं जित हो । उसको जितमा निकोलास ओटामेन्डीले गोल गरे । खेलको ६३औं मिनेटमा रक्षक निकोलास ओटामेन्डीको गोलमा अर्जेन्टिनाले अग्रता बनाएको थियो । र, त्यो नै निर्णायक भयो ।  यसअघि दुबै टोलीका समर्थकबीच हानाहान हुँदा खेल आधा घण्टा ढिला सुरू भएको थियो । भ्रमणकारी टोलीका समर्थकलाई प्रहरीले कुटेको भन्दै अर्जेन्टिना खेलाडीले मैदान छाडेका थिए । दुई पक्षको झडप साम्यपार्न पुलिसले लाठी चार्ज गर्नुपरेको थियो ।

दोस्रो हाफमा घरेलु टोली ब्राजिलले गोलका धेरै अवसर बनाएपनि सदुपयोग गर्न सकेन । केही राम्रो प्रहार अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले बचाएका थिए । एन्जल डि मारियालाई स्थान दिँदै मेसी ७८औं मिनेटमा मैदान छाडेका थिए । मैदान भित्रसमेत खेल तनापूर्ण स्थितिमा रह्यो । खेलको ८१औं मिनेटमा ब्राजिल १० खेलाडीमा सिमित भयो । ब्राजिलका जोइलिन्टनले सिधै रातो कार्ड पाए । अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डि पाउललाई हातले हानेपछि उनलाई सिधै रातो कार्ड दिइएको थियो ।

 

खेलभर घरेलु टोली ब्राजिलले २५ र अर्जेन्टिनाले १३ फाउल गरेका थिए । ब्राजिलले एक रातो सहित तीन पहेँलो कार्ड पायो । अर्जेन्टिनाले २३ फ्रिकिक पाएको थियो । जितपछि अर्जेन्टिना ६ खेलबाट १५ अंकसहित शीर्षस्थानमा छ । ब्राजिल ७ अंकसहित छैटौं स्थानमा रह्यो ।