साझेदारी गर्नुहोस्

विश्वकप क्रिकेटको फाइनल आईतवार हुँदैछ । नरेन्द्र मोदी स्टेडियममा पाँच पटकको विजेता अष्ट्रेलिया र दुई पटकको विजेता भारत उपाधिका लागि भीड्नेछन् । विजेता टिमले उपाधिसँगै ठूलो धनराशीको नगद रकम पनि पाउँछ । उपविजेता टिमसहित अरु टिमका लागि पनि आइसिसिले यस अघि नै नगद पुरस्कारको घोषणा गरिसकेको छ ।

यस पटकको विश्वकप क्रिकेटमा सबै खाले नगद पुरस्कारका लागि एक करोड अमेरिकी डलर खर्च हुनेछ ।  त्यसमध्ये फाइनल विजेता टिमले विश्वकपको ट्रफिसंगै नगद पुरस्कारका रुपमा ४० लाख अमेरिकी डलर अर्थात ५३ करोड २७ लाख २० हजार नेपाली रुपैंया प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले त्यसको ठिक आधा २० लाख अमेरिकी डलर अर्थात २६ करोड ६३ लाख ६० हजार नेपाली रुपैंया नगद पाउने छ । विश्वकप क्रिकेटको सेमिफाइनलमा पराजित भएका दुई टिमले समान ८ लाख अमेरिकी डलर अर्थात १० करोड ६५ लाख ४४ हजार नेपाली रुपैंयाका दरले पाउनेछन भने समूह चरणबाटै बाहिरिएका ६ वटा टिमले समान एक लाख अमेरिकी डलर अर्थात एक करोड ३३ लाख १८ हजार नेपाली रुपैंयाका दरले नगद पाउनेछन ।

विश्वकप क्रिकेटको लिग चरणका खेलमा हरेक बराबर ४० हजार अमेरिकी डलर अर्थात ५३ लाख २७ हजार दुई सय नगद पाउनेछन। यस बाहेक पनि प्रत्येक खेलमा म्यान अफ दि म्याच लगायतका अन्य पुरस्कारमा ट्रफिसंगै नगद पुरस्कार पनि दिने गरिएको छ ।यस बर्षको विश्वकपमा १० वटा टिम सहभागि थिए ।