साझेदारी गर्नुहोस्

सामाजिक सद्भावमा नराम्रो असर पु¥याइरहेको भन्दै नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकबाट ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटक प्रयोगमा तत्काल रोक लगाउने’ निर्णय भएको थियो। टिकटकको माध्यमबाट देशभर सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको सरकारको ठम्याइ थियो।

 

तर, सरकारले निर्णय गरेको ४ दिन भइसक्दा पनि नेपालमा टिकटक बन्द हुन सकेको छैन। टिकटक चलाउँदै आएका यसका प्रयोगकर्ताले भीपीएनको माध्यमबाट सजिलै टिकटक चलाइरहेका छन्। केही इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि सरकारको कदमलार्ई साथ दिएका छन्। केही इन्टरनेटमा टिकटक पूर्णतया बन्द भइसकेको छ।

सरकारले प्रतिबन्ध लगाएपछि सरोकारवाला संस्थाले विरोधसमेत गरेका थिए। तर, विभिन्न राजनैतिक तथा सामाजिक व्यक्तित्वहरूले टिकटक बन्द गराउनु सरकारको राम्रो काम भएको बताएका छन्।

 

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलका अनुसार प्राधिकरणले टिकटक बन्द गराउनका लागि पहल सुरु गरिसकेको छ। उनी भन्छन्, ‘सरकारको निर्णय कार्यान्वयनका लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायकहरूलार्ई प्राधिकरणबाट निर्देशन दिइएको छ।’

 

केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको सूचना आएकाले तत्कालै बन्द गर्नुपर्ने उनले बताए। प्राधिकरणको निर्देशन कार्यान्वयन नगर्ने इन्टरनेट सेवा प्रदायकमाथि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुने उनले बताए। नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायत भन्छन्, ‘गैरकानुनी एपहरू डाउनलोड गरी टिकटक चलाउँदा, व्यक्तिगत विवरणसमेत सुरक्षित हुँदैन। पछिल्लो समय टिकटकमा नराम्रा विषयवस्तु धेरै देखिन थालेपछि अपराधसमेत मौलाएको छ।’