साझेदारी गर्नुहोस्

तिहारको लक्ष्मीपूजाको दिन देश भित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १ हजार ४ सय ३८ मेगावाट रेकर्ड गरिएको छ। नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १ सय ३३ मेगावाटले बढेर १ हजार ४ सय ३८ मेगावाट पुगेको रेकर्ड गरेको छ। गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १हजार ३सय ५ मेगावाट थियो।

तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो। यस वर्ष प्राधिकरणले पिक डिमाण्ड १हजार ३ सय ५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो।

लक्ष्मीपूजाको दिनको पिक डिमाण्ड देशभित्रैका विद्युत्गृहहरुबाट उत्पादन गरी आपूर्ति गरेको थियो। देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५ सय १७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ।

 

गत वर्ष लक्ष्मीपूजा पिक समयमा ४सय ६ मेगावाट मात्र निर्यात गरिएको थियो। लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग १ हजार ९सय ५५ मेगावाट रेकर्ड गरिएको छ। गत वर्ष प्रणालीको पिक डिमाण्ड १हजार ७ सय ११ मेगावाट थियो।

यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ। गत वर्ष ३४२ मेगावाट थियो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार उपकार्यकारी निर्देशकहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए।

कार्यकारी निर्देशक घिसिङले ७ वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २ सय ५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताए। उनले गत वर्षभन्दा लक्ष्मीपूजाको पिक डिमाण्ड १० प्रतिशत बढ्नु सकारात्मक रहेको उल्लेख गरे।

 

जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १ सय १ मेगावाट विद्युत उत्पादन क्षमता भएता पनि प्राधिकरकणले पिक समयमा १६ मेगावाटमा मात्र चलाएको थियो। प्राधिकरणका स्वामित्वका अन्य विद्युत्गृहहरुबाट ४ सय २० मेगावाट, माथिल्लो तामाकोशी, चिलिमेलगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत्गृहहरुबाट ५ सय २२ मेगावाट, निजी क्षेत्रका विद्युतगृहहरुबाट ९ सय ९७ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको थियो।

 

विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ। २०७३ को लक्ष्मीपूजा कै दिनबाट देशलाई लोडसेडिङमुक्त घोषणा गर्ने अभियान सुरु गरिएको थियो।अहिले मुलुक लोडसेडिङबाटमुक्त मात्र छैन देशभित्र खपत गरी बचत भएको विद्युत् निर्यात भइरहेको छ। प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अपरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो।