सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्पपीडितले गाउँमा पुग्ने जससँग पनि त्रिपाल मागिरहेको बताएका छन् । उनले भूकम्पको एक साता बितिसक्दा पनि सरकारले आधारभूत राहत सामग्रीसमेत सबैतिर पुर्याउन नसकेको बताए । प्रभावित क्षेत्रको अनुगमनबाट फर्किएपछि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राहत र पुननिर्माणका सन्दर्भमा सुझाव राखेका विषयमा जानकारी दिँदै पीडितहरूलाई चिसोबाट बचाउनुपर्ने बताए ।
गगन थापा लेखछन,
“आज भूकम्प प्रभावित क्षेत्रमा पानी पर्यो, जाडो बढिरहेछ। नयाँ घर नबन्दा सम्म कम्तीमा जाडो र बर्खा थेग्ने गरी अस्थायी घर बनाउन जरुरी छ।
हामीले दुई नमुना अस्थायी घर (टहरा) बनाउँदै गर्दाको अनुभवका आधारमा कम्तीमा दुई दक्ष र दुई अर्धदक्ष सहित ११ जनाको समूह हुँदा एक दिनमा एउटा टहरा बनाउन सकिने रहेछ। यो विषयमा हामीले प्रधानमन्त्री ज्युलाई भेटेका थियौँ। आज सरकारले अस्थायी आवास बनाउन प्रत्येक परिवार ५० हजार दिने सरकारले सही निर्णय गरेको छ। अब निर्णयमा मात्र नअड्की सरकारले अरू काम गर्नुपर्छ।
तत्काल तिहार लगत्तै प्रत्येक पीडित परिवारको हातमा रकम पुग्ने गरी संयन्त्र बनाएर काम गर्नुपर्छ।
घर बनाउन चाहिने जस्तापाता जस्ता सामानहरू बजार बाट लिनुपर्ने हुनाले बजारमा जस्ताको सहज उपलब्धता सुनिश्चित गर्नुपर्छ।
सबैभन्दा महत्त्वपूर्ण, एकैसाथ धेरै संरचना बनाउनुपर्ने हुनाले जनशक्ति पर्याप्त छैन। त्यसको लागी दक्ष र अर्धदक्ष जनशक्ति त्यहाँ पुग्ने र काम गर्ने गरी उचित व्यवस्थापनमा ध्यान दिनुपर्छ।
यहीँ उद्देश्य सहित मङ्सिरको पहिलो साता नै नेपाली कांग्रेसले १००० घर बनाउन चाहिने जनशक्ति श्रमदानको लागि भूकम्प प्रभावित क्षेत्रमा पठाउने छौँ। ”
आज सरकारले पैसा दिने निर्णय गरेको छ, अब पैसा समयमा नै पीडित परिवारको हातमा पुग्ने देखि बाँकी काममा हाम्रो साथ, सहयोग र खबरदारी रहनेछ।