नेपाल टेलिकमको आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा रु ३९ करोड बढी आम्दानी घटेको छ । टेलिकमले आज सार्वजनिक गरेको प्रथम त्रैमासिकको वित्तीय विवरणअनुसार चालु आवको प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कूल आय रु १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रहेको जनाइएको छ ।
उक्त रकम गत आवको सोही अवधिको कूल आयको तुलनामा तीन दशमलव ५४ प्रतिशतले कमी भएको हो । गत आवमा रु ११ अर्ब चार करोड ९० हजार आम्दानी भएको थियो । उक्त आम्दानीको तुलनामा चालू आवमा रु ३९ करोड १२ लाख ९७ हजार कमी भएको टेलिकमले जनाएको छ ।
कम्पनीको कूल सञ्चालन आय पनि रु ४९ करोड २५ लाख २१ हजार घटेको छ । चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको कूल सञ्चालन आय रु आठ अर्ब ५८ करोड ५० लाख ६३ हजार रहेको छ ।
उक्त रकम गत आवको सोही अवधिको कूल सञ्चालन आय रु नौ अर्ब सात करोड ७५ लाख ८४ हजारको तुलनामा रु ४९ करोड २५ लाख २१ हजार (अर्थात्, ५.४३ प्रतिशत) ले कमी भएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको खुद मुनाफामा पनि कमी आएको जनाएको छ । कम्पनीको खुद मुनाफा प्रथम तीन महिनामा रु दुई अर्ब दुई करोड ७४ लाख ३२ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिमा रु दुई अर्ब २२ करोड ५५ लाख छ हजार रहेको थियो । गत आवको तुलनामा चालू आवमा रु १९ करोड ८० लाख ७४ हजार (अर्थात्, ८.९० प्रतिशत) ले कमी भएको छ ।