शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पले ३५ हजार परिवारलाई बासविहीन बनाएको छ । जाजरकोट र रुकुम पश्चिमलगायत १३ जिल्लामा १७ हजार ७ सय ९२ घर पूर्ण रूपमा भत्किएका छन् । त्यस्तै १७ हजार ५ सय २९ कच्ची घर चर्किएकाले बस्न नमिल्ने अवस्थामा छन् ।
गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सोमबार रातिसम्म संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी घर रुकुम पश्चिममा भत्किएका छन् । सबैभन्दा बढी मानवीय क्षति भने जाजरकोटमा भएको छ । भूकम्पबाट १ सय ५७ जनाको मृत्यु भएकामा १ सय ५ जना जाजरकोटका छन् ।