साझेदारी गर्नुहोस्

शुक्रबार राति पौने १२ बजेतिर जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गयो। जसले गर्दा जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय क्षति भयो।  प्रहरी तथ्यांकअनुसार जाजरकोटमा (१०१), रूकुम (५२) गरी १५३ जनाको मृत्यु भएको छ। यसरी भूकम्पबाट मृत्यु हुनेमा आधा बालबालिका परेका छन्।

जाजरकोटमा भूकम्पबाट मृत्यु हुनेमा ४६ जना अर्थात् ४३ प्रतिशत बालबालिका छन् भने रूकुम पश्चिममा २८ अर्थात ५३ प्रतिशत बालबालिकाले भूकम्पबाट ज्यान गुमाउनु परेको छ। जाजरकोट जिल्ला समन्वय समितिका सदस्य खडकबहादुर बुढा भूकम्पमा धेरै बालबालिका पर्नुको पछाडि चाडपर्व मनाउन गाउँ फर्किनुलाई मान्छन्। सामुदायिक विद्यालयहरूले दसैं–तिहारको बीचमा विद्यालय खोलेका छैनन्। त्यसले गर्दा धेरै बालबालिका गाउँमै थिए।