साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीले गरिबका छोराछोरीले पढ्ने २४७ वटा कलेजहरू बन्द हुँदा ९ हजारभन्दा धेरै विद्यार्थीले पढ्न नपाएको बताएका छन् । उनले देशबाट प्राविधिक र उच्च शिक्षाका नाममा बर्सेनि करिब डेढ खर्ब रुपैयाँबाहिर गइरहेको भन्दै युवालाई देशमै रोक्ने गरी शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने बताए ।

सानेपास्थित कांग्रेस मुख्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार नेता भण्डारीले देशमा गरिबका छोराछोरीले पढ्न पाउने कलेजसमेत बन्द गराएर कसले के गर्न खोजिरहेको छ ? भन्दै प्रश्न गरे ।

‘हिजो वीर अस्पतालमा गरिबका छोराछोरीले नर्स, अनमी र एचए पढ्थे, पाटनमा पढ्थे । तर अहिले त्यस्ता २४७ वटा कलेजहरू बन्द भएका छन् । त्यसबाट ९ हजारभन्दा बढी गरिबका छोराछोरीले पढ्न पाउने अवसर गुमाएका छन् । बरू आज मुलुकबाट एक खर्ब ४७ अर्ब पैसा विदेशमा शिक्षाका लागि बाहिरिँदै छ,’ उनले भने, ‘गरिबका छोराछोरीले देशमा पढ्न पनि नपाउने हो भने के गर्न यो देशमा बस्ने ?’

उनले देशमा युवा नै नरहने हो भने अहिलेको पुस्ताले जे गरे पनि त्यसको अर्थ नहुने बताए । ‘हामीले यहाँ बहस गरिरहेका छौँ । संसद्‍मा छलफल गरिरहेका छौँ । दिनहुँ देशमा केही होस् भनेर काम गरिरहेका छौँ,’ उनले अघि भने, ‘तर हामीले जति गरे पनि भोलि त्यसको लाभांश लिने पिँढी नै देशमा नहुने भने हामीले जति जे गरे पनि त्यसको के अर्थ ?’ नेता भण्डारीले महँगो शिक्षा र स्वास्थ्यकै कारण देश गरिबीको खाल्डोतिर धकेलिएर गइरहेको बताए ।