साझेदारी गर्नुहोस्

जिल्ला अदालत संखुवासभाले कारागारमा दुई कैदीको मृत्यु प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीका अनुसार न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम कारागारमा थुनामा पठाउन आदेश दिएका हुन् ।

उनीहरुलाई कारागार विभाग र जिल्ला सुरक्षा समितीको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइसकिएको छ । बुधबार सरकार र प्रतिवादीतर्फका आठ कानुन व्यवसायीले बहस गरेका थिए ।

कारागारमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, सुरक्षागार्ड कार्यरत सुमन गुरुङ, दमनसिंह राई, प्रहरी हबल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवान मनिष राई, पवनकुमार महतो र नुशन राईलाई पुर्पक्षका लागि धनकुटा कारागार पठाइएको छ ।

 

त्यस्तै, कैदीहरु रामबहादुर कार्की, अनिश शर्मा कट्टेल, सचिन राई, सुमन सारू मगर, टीकाराज चौहान, नवीनकुमार राई, इन्द्रध्वज घिमिरे र मीनबहादुर तामाङलाई पुर्पक्षका लागि तेह्रथुम कारागार पठाइएको श्रेस्तेदार केसीले बताए ।

मुलुकी अपराधसंहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालले जनाएको छ । सबै अभियुक्तविरुद्ध जन्मकैदको मागदाबी गरिएको छ । गत साउन २४ गते संखुवासभा मादीका विनोद तोलांगी र नुवाकोटको ककनीका आकाश बलामीको प्रहरी र कैदीको कुटपिटबाट मृत्यु भएको थियो ।