गाउने बजाउनेहरुको भविष्य राम्रो छैन भन्ने भाष्य पुरानो भइसकेको छ । आज गायन र संगीतको क्षेत्रले उल्लेख्य आम्दानी र प्रतिष्ठा बटुलिरहेको छ।
फराकिलो बन्दै गएको यो क्षेत्रमा नयाँ पुस्ताको आकर्षण बढ्दो देखिन्छ । अझ त पछिल्लो समय तीब्र रुपमा विकास भएको सामाजिक संजालले यस क्षेत्र प्रतिको मोह बढाइ दिएको छ । यहि संगीतको मोहले तानिएका व्यक्ति हुन् कुन्साङ दोर्जे लोप्चन ।मकवानपुर जिल्लाको बाग्मती गाउँपालिका ३ कुटि भकारी भन्ने ठाउँमा आमा ज्योमो माया लोप्चन र बुवा सोमन सिंह लोप्चनको तेस्रो सन्तानको रूपमा २०५० साल माघ २४ गते जन्मिएका कुन्साङ आठ वर्षको उमेरमा गुम्बा प्रवेश गरे । बैंलोरको थली गुम्बाका लामा गुरुहरुको संगतले उनलाई आध्यात्मिक मात्रै बनाएन संगीतकार बन्न समेत प्रेरित गर्यो ।
केही वर्ष लामा गुरुहरु संग बाल्यकाल विताएका कुन्साङ एउटा गुम्बामा मात्रै सिमित हुन चाहेनन् । त्यसपछि उनी गुम्बा छोडेर नेपाल फर्किए । उनलाई संगीतको मोहले तानिरहेको थियो । परिवार र आफन्तको हौसलाले कुन्साङलाई संगीत सिक्न थप उर्जा थपियो । त्यसपछि उनी काठ्माण्डौँ छिरे । नजिकै को दाइ नाता पर्ने ठूली आमाको छोरा बम बहादुर बलको सहयोगले उनलाई काठ्माण्डौँ बस्न थप सहज भयो । भाइको सपना पूरा गर्न र परिवारको जिम्मेवारीले गर्दा कान्छी दिदी रमिला लोप्चन विदेशीनु पर्यो । दिदिको सहयोग पाएका कुन्साङलाई आफ्नो सपना पूरा गर्न थप सहज भयो । आर्थिक भार तनाव केही हदसम्म कम भयो ।
उनलाई जसरी पनि संगीत सिकाउने गुरुको आवश्यकता थियो । समय बित्दै जाँदा उनको भेट संगीतकार (संगीत गुरु) प्रकाश् गुरुङ संग भयो । ढुंगा खोज्दा देउता भेटेझैँ अब के चाहियो र केहि समय गुरुङ संग संगीत सिकेका कुन्साङले पूर्ण गुरुङ बाट म्युजिक यारेन्ज सिके । सुरेश बानियाँको सहयोगमा किबोर्ड सिकेका कुन्साङले अहिले सम्म दुई सय भन्दा बढी गीतहरु यारेन्ज गरिसकेका छन् । जाउँ मैच्याङ सरर हेटौंडा बजार, घुम्न लाई आको बजार, टिकटक हेरेर, गाउँ छोडी प्रदेश, चिरुवा स्योङ्ला घ्याम, कम्ब करिलो, चाँदी बगर जस्ता गीतहरूमा संगीत भरिसकेका कुन्साङले, शसिकला मोक्तान , इन्दिरा गोले , जितु लोप्चन , सुमिना लो , लगायतका कलाकार संगको सहकार्य गरिसकेका छन् । सांगीतिक कार्यक्रमहरुमा देश विदेश यात्रा गर्दै आएका कुन्साङले मलेसिया , सिङ्गापुर जस्ता देशहरूमा सांगीतिक कार्यक्रमका लागि सहभागीता जनाइ सकेका छन् । नेपालको सिन्धुली, बुटवल , झापा, पोखरा , लगायतका थुप्रै ठाउँहरुमा सांगीतिक कार्यक्रम गर्दै आएका उनले नेपालका प्रसिद्ध कलाकारहरु प्रमोद खरेल, कमल खत्री , राजेश पायल राई , प्रकाश तारा लिम्बु , मिलन चाम्लिङ राई , प्रसान्त तामाङ, नारायण रायमाझी , पल शाह , वर्षा सिवाकोटी, नाजिन हुसेन जस्ता व्यक्तिहरू संग सहकार्य गरिसकेका छन् । आफ्नो कर्मलाइ निरन्तरता दिदै आएका उनी तामाङ जुहारी कलाकार संघ बाट बेस्ट यारेन्जरको रुपमा सम्मानित भइसकेका छन् । यो संगै उनले थुप्रै साना ठूला सम्मानहरु प्राप्त गरिसकेका छन् । डिजिटल नेपाल रेकर्डिङ स्टुडियोमा काम गरिरहेका उनी यो क्षेत्रमा नाम र दाम दुइटै भएको बताउँछन् । संगीत एक सम्मानित पेशा भएको बताउने उनि यो क्षेत्रमा आउने जो सुकैले राम्रो मिहेनत गरि टिक्न सके भविष्य सून्दर हुने बताउँछन् । सन् २०१३ देखि संगीतमा प्रवेश गरेका २९ वर्षीय कुन्साङ २०२३ सम्म आइपुग्दा सोचे भन्दा बढी सफलता प्राप्त गरेको बताउँछन् । उनको काममा पत्नी सिर्जना तितुङले पनि उत्तिकै साथ दिइरहेकी छन् ।