साझेदारी गर्नुहोस्

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सरकार मानव बेचबिखन नियन्त्रणमा सक्रिय रहेको बताएका छन् । बुधबार मानव बेचबिखन बिरुद्धको सत्रौँ राष्ट्रिय दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले सरकार मानव बेचबिखन नियन्त्रणमा पूर्ण रूपले सक्रिय रहेको बताएका हुन् ।

मानव बेचबिखन नियन्त्रणका लागि सम्बन्धित सरोकारवालाहरूसँग हातेमालो गरेर काम गर्न पनि सरकार प्रतिबद्ध रहेको मन्त्री आचार्यको भनाइ छ । उनले सामूहिक प्रयासबाट मात्रै मानव बेचबिखनको समस्या समाधान हुने बताए ।

भारतसँगको खुला सिमाना, गरिबी, नागरिकको न्यून सचेतना स्तर र मानव बेचबिखनको बदलिँदो प्रवृत्तिका कारण समस्याहरूको समाधान अपेक्षित रूपमा भने हुन नसकेको मन्त्री आचार्यले बताए ।

उनले सामाजिक सञ्जालको दुरुपयोग र वैदेशिक रोजगारको बढ्दो प्रवृत्तिका कारण पनि समस्या देखा परिरहेको बताए ।