साझेदारी गर्नुहोस्

 

‘काठमाडौं कलिङ साहित्य महोत्सव’ को दोस्रो संस्करण आजदेखि सुुरू भएको छ।

तीन दिनसम्म चल्ने महोत्सव परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो। महोत्सवमा उपस्थित दक्षिण एसियाका लेखक, साहित्यकार तथा कलाप्रेमीलाई परराष्ट्रमन्त्री एनपी साउदले नेपाल सरकारको तर्फबाट स्वागत गरे।

‘यो महोत्सवले सांस्कृतिक आदानप्रदानको मञ्चका रूपमा काम गर्ने र नेपालमा भएको यो महोत्सवले यहाँको सभ्यता, ज्ञान र संस्कृतिलाई संसारभरि फैलाउन मद्दत गर्नेछ,’ उनले भने।

कलिङ साहित्यिक महोत्सवका सस्थापक निर्देशक रश्मी रञ्जन परिदाले भारत र नेपालबीचको सांस्कृतिक आदानप्रदान कुन समयदेखि सुरू भयो भन्ने छुट्याउनै गाह्रो हुने र यो यात्रा निरन्तर चलिरहेको बताए।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुुलपति निशा शर्माले यस्तो महोत्सवले साहित्यलाई धेरै स्थान दिने गरेको तर नाटकलाई भने सोही अनुरूप महत्व नदिने धारणा राखिन्। आगामी शृंखलामा नाटक र संगीतलाई पनि महोत्सवमा समेट्न सुझाव दिइन्।

पत्रकार रूपेश श्रेष्ठले गरेको कार्यक्रममा नेपालको चर्या र कुमारी नृत्य पनि समावेश गरिएको थियो। नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकालगायत देशका साहित्यकारहरू जमघट हुने यो अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा भएको हो।