साझेदारी गर्नुहोस्

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका– ८ घर भई टोखा नगरपालिका– ३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका– १ घर भई कागेश्वरी–मनोहरा नगरपालिका– ८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका– ३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका– १ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका– १४ नख्खिपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकामध्ये मगरले दुईजनालाई क्यानडा पठाई प्रतिष्ठित मार्केटमा मासिक रु. दुई लाख तलबमा काम लगाइदिने भन्दै पीडितबाट रु. पाँच लाख ४५ हजार, सुनुवारले एकजनालाई क्रोएसिया पठाई फुड प्याकिङमा मासिक रु. एक लाख तलबमा काम लगाइदिने भन्दै पटकपटक गरी रु. दुई लाख, खड्काले एकजनालाई कुवेत पठाई बाइक राइडरमा मासिक रु. ५० हजार तलबमा काम लगाइदिने भन्दै रु. एक लाख ९४ हजार र गुरुङले एकजनालाई नेदरल्यान्ड पठाई सुपर मार्केटमा मासिक रु. एक लाख तलबमा काम लगाइदिने भन्दै रु. तीन लाख ४५ हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको हो।

मगरलाई काठमाडौंको टोखाबाट, सुनुवारलाई काठमाडौंको मनोहराबाट तथा खड्कालाई काठमाडौंकै सामाखुसीबाट शुक्रबार र गुरुङलाई ललितपुर नख्खिपोटबाट आइतबार पक्राउ गरिएको थियो।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरी उपरीक्षक केसीले बताए।