साझेदारी गर्नुहोस्

एमाले सांसद भीमप्रसाद आचार्य नेपालको शिक्षालाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी बनाउनेगरी शिक्षा ऐन ल्याउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद आचार्यले नेपालको शिक्षालाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी, सुलभ र बजारको मागअनुरुपको बनाउनुपर्ने बताएका हुन् ।

सांसद आचार्यले प्रतिस्पर्धी शिक्षाको व्यवस्था गर्दै विद्यार्थीहरू विदेशिने क्रम रोक्नुपर्ने बताए । शिक्षा ऐन तत्कालका समस्याहरूलाई समाधान गर्ने प्रकारको मात्र नभई शिक्षालाई विश्वव्यापी रुपमा प्रतिस्पर्धी बनाउनेगरी ल्याउनुपर्ने उनको भनाइ छ । त्यसका निम्ति अहिले मस्यौदा भएको ऐनले नपुग्ने भन्दै मस्यौदालाई परिमार्जन गरेर शिक्षा ऐन ल्याउनुपर्ने उनले बताए ।

त्यस्तै शिक्षा नियमावलीलाई पनि परिमार्जित गर्नुपर्ने उनको माग छ । त्यसैगरी पाठ्यक्रमहरू पनि वर्षौंदेखिका पुराना रहेका भन्दै पाठ्यक्रमको परिमार्जन गर्नुपर्ने पनि उनले बताए ।

सांसद आचार्यले शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न शैक्षिक क्यालेन्डर बनाउनुपर्ने बताए । त्यस्तै पूर्वाधार निर्माणमा पनि ध्यान दिदैँ शिक्षण संस्थाहरुमा शैक्षिक वातावरण हुनुपर्ने पनि उनको भनाइ छ ।