साझेदारी गर्नुहोस्

नेकपा (एकीकृत समाजवादी)को पोलिट्ब्युरो बैठक बसिरहेको छ।

बैठक पार्टी कार्यालयमा बिहान ११ः३० बजेबाट पोलिट्ब्युरो बैठक सुरू भएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकमा वर्तमान राष्ट्रिय परिस्थितिबारे छलफल भइरहेको उनले बताए।

भोलिसम्म चल्ने बैठकमा संगठन सुदृढीकरणको रिपोर्टिङ, पार्टीका सैद्धान्तिक-वैचारिक सवाल र पार्टीको संगठनात्मक अवस्थाबारे छलफल हुने उनले बताएका छन्।

त्यस्तै पार्टीका देखा परेको आन्तरिक समस्या र आगामी कार्ययोजना पनि बैठकको कार्यसूचीमा रूपमा छन्।

आगामी कार्ययोजनामा संगठनात्मक अभियान र महाधिवेशनबारे छलफल हुने छ। बैठकमा धारणा राख्ने पोलिट्ब्युरो सदस्यलाई नेतृत्वलाई रचनात्मक सुझाव दिन पनि भनिएको छ।

एकीकृत समाजवादीमा पछिल्लो समय पार्टी राजनीतिक कार्यदिशामा मतभेद देखा परेको छ। असार २९ देखि साउन ५ गतेसम्म चलेको सचिवालय बैठकले पार्टीको राजनीतिक कार्यदिशाका रूपमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता रहेको र यसलाई समाजवादी आन्दोलनको रूपमा विकास गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

साउनको २० र २१ गते बसेको पार्टी स्थायी कमिटीको बैठकमा पनि यसबारे बहस भएको थियो। पार्टीका सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवादको सान्दर्भिकता नरहेको वैज्ञानिक समाजवादी कार्यदिशा अंगीकार गर्नुपर्ने धारणा राखेका थिए। उनले पार्टी उल्टो पिरामिणको ढाँचामा गएको, कार्यकर्ताभन्दा नेता धेरै हुने र माथि दस टाउके रावणजस्तो, तल सुक्दै गएको आकारको संरचना चल्न नसक्ने बताएका थिए।

२०७८ भदौ २ गते एमालेबाट विभाजन भएर पार्टी बनेको तर त्यतिबेलाको विद्रोहको औचित्य पुष्टि हुन नसकेको भन्दै प्रश्न उठाएका थिए।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी भदौ ५, ६, ७ गते बालकुमारीमा बस्ने छ। सचिवालय, स्थायी कमिटी र पोलिट्ब्युरोमा बैठकमा भएका छलफल, उठेका विषयलाई एकीकृत गरेर केन्द्रीय कमिटीमा लैजाने पार्टीको तयारी छ।