साझेदारी गर्नुहोस्

नेपालका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सोमबार हुने भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठविरुद्ध उजुरी दिनेहरूसँग छलफल गरेपछि सोमबार नै सुनुवाइ गर्ने निर्णय गरेको हो ।

संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्धका उजुरी समिति सदस्यहरूलाई वितरण गर्दै सुनुवाइको समय निर्धारण गरिएको छ ।
समितिमा कार्यरत उपसचिव विमला घिमिरेले सोमबार बिहान साढे १० बजे उजुरीकर्ताहरूलाई बोलाउने निर्णय भएको जानकारी दिइन् । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइका लागि साढे ११ बजेको समय निर्धारण गरिएको उनले जानकारी दिइन् ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठका सम्बन्धमा साउन २४ मा सुनुवाइ समितिले उजुरी आह्वानका लागि सूचना निकालेको थियो । १० दिनमा श्रेष्ठको सम्बन्धमा ३ उजुरी परेका छन् । एउटा उजुरी सैद्धान्तिक र दुई उजुरी प्रस्तावित व्यक्तिविरुद्ध परेका छन् ।