साझेदारी गर्नुहोस्

गत आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ७.७४ प्रतिशत कायम भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक वित्तीय प्रतिवेदनअनुसार रेस्टुरेन्ट तथा होटल उपसमूहको मूल्यवृद्धि सबैभन्दा उच्च अर्थात् १४.४२ प्रतिशत रहेको पाइएको छ । मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्धजन्य पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत मूल्यवृद्धि पाइएको राष्ट्र बैंकले जनाएको छ ।

सेवा समूह अन्तर्गत यातायात उपसमूहको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.१८ प्रतिशत, स्वास्थ्यको १०.०१ प्रतिशत, शिक्षाको ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको ८.६५ प्रतिशत रहेको छ । क्षेत्रगत रुपमा हेर्दा मूल्यवृद्धि काठमाडौं उपत्यकामा ७.५५ प्रतिशत, तराईमा ८.०० प्रतिशत, पहाडमा ७.५६ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।