साझेदारी गर्नुहोस्

कैलाली जिल्ला अदालतमा एकै वर्षमा तीन सयभन्दा बढी जबरजस्ती करणीका मुद्दा दायर भएका छन् । जबरजस्ती करणी, जबरजस्ती करणीको उद्योग, हाडनातामा करणी र बाल यौन दूराचार गरी आर्थिक वर्ष ०७९/०८० मा मात्र कैलाली जिल्ला अदालतमा ३ सय ३ उजुरी दर्ता भएका हुन् ।
अदालतको वार्षिक प्रतिवेदनमा जबरजस्ती करणीसम्बन्धी यो डरलाग्दो तथ्यांक बाहिर आएको हो । अदालतको प्रतिवेदनअनुसार सबैभन्दा बढी जबरजस्ती करणीका १ सय ९७ उजुरी पीडितले दर्ता गरेका छन् । जसमध्ये १ सय ६ वटा उजुरीमा कारबाही भएको छ भने बाँकी ९१ उजुरीमाथि टुंगो लाग्न बाँकी रहेको छ । जबरजस्ती करणीको उद्योगमा ७९ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये ३० उजुरीमा कारबाही भएको छ भने ४९ वटा मुद्दा फर्स्यौट भएका छैनन् ।

बाल यौन दुराचारका २१ वटा उजुरीमध्ये ९ वटाको मात्र अदालतबाट टुंगो लागेको छ । १२ वटा बाल यौन दुराचारका मुद्दा अझै बाँकी छन् । हाडनातामा करणी सम्बन्धी ६ वटा उजुरीमध्ये २ वटा उजुरीमाथि कारबाही भएको छ भने ४ वटा उजुरीको विषयमा टुंगो लाग्न बाँकी रहेको जिल्ला अदालत कैलालीको प्रतिवेदनमा उल्लेख छ ।

‘जबरजस्ती करणी, हाडनाता र करणी उद्योगका धेरैजसो पीडितले उजुरी नै गर्दैनन्,’ अधिवक्ता गम्भीरसिंह ऐरले भने, ‘तुलनात्मक रुपमा एकै वर्षमा यति धेरै करणीका उजुरी आउनु डरलाग्दो तथ्यांक नै हो । तर, धेरैजसो करणीका मुद्दामा कानुनले दिएको अधिकारको दुरुपयोग गर्ने गरी उजुरी आउने गरेका छन् ।’