साझेदारी गर्नुहोस्

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुलाई सरुवा गर्न चलखेल सुरु भएको छ । प्रहरीमा ८ जना अतिरिक्त महानिरीक्षक छन् । उनीहरुको पदस्थापन भएको ४ महिना पूरा भएको छ ।

चार महिनामै एआईजीको सरुवा प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषद्मा लैजाने तयारी गरेसँगै प्रहरीमा असन्तुष्टि देखिएको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवाली, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राई, केन्द्रीय अनुसन्धान ब्युरोकी निर्देशक किरण बज्राचार्य र प्रशासन विभागका प्रमुख दिपक थापा २०७९ चैत २० मा पदस्थापन भएका थिए ।

मन्त्रिपरिषद् बैठकले २०७९ चैत २४ मा सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई पदस्थापन गर्ने निर्णय गरेका थियो । तर, पदस्थापन भएको चार महिना पूरा नहुँदै केही एआईजीलाई सरुवा गर्न खोजिएको छ । गृह मन्त्रालयका एक जना उच्च अधिकारी भन्छन्, ‘एआईजी सरुवा गर्नेबारे छलफल हुँदैछ ।’

मन्त्रालय स्रोतका अनुसार एआईजी टेक प्रसाद राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट हटाएर त्यहाँ श्यामलाल ज्ञवालीलाई लैजान खोजिएको छ । उपत्यका प्र्रहरी कार्यालयमा कार्यरत ज्ञवालीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको नेतृत्व गरेका थिए । उपत्यका प्रहरी कार्यालयमा प्र्रशासन विभागमा कार्यरत दिपक थापालाई सरुवा गर्न खोजिएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा राम्रो कामको सुरुवात गर्दागर्दै आफूलाई सरुवा गर्न खोजेकोबारे एआईजी राईले आईजीपी बसन्त कुँवरसँग ‘असन्तुष्टि’ जनाएका छन् । एआईजी राई प्रहरीमा प्रवेश गरेदेखि हालसम्म तेस्रो पटकमात्रै ईन्चार्ज भएका हुन् ।

प्रहरी नियमावली अनुसार एआईजीको सरुवा कम्तीमा एक वर्षमा गरिन्छ । तर, चार महिनामै सरुवा गर्न चलखेल थालिएपछि उच्च प्रहरी अधिकृतहरु गृहमन्त्रालयको नेतृत्वसँग असन्तुष्ट बनेका छन् ।

सरुवा चलखेल थालिएकोबारे एकजना एआईजी भन्छन्, ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको पनि बन्न दिँदैन ।’