साझेदारी गर्नुहोस्

नेकपा (एमाले) ले स्थायी कमिटी सदस्य मणि थापासँग सोधपुछ गर्ने भएको छ।

सोमबार बसेको पार्टी सचिवालयको बैठकले पछिल्लो समय पार्टी गतिविधिबाट निष्क्रिय बसेका थापासँग सोधपुछ गर्ने निर्णय गरेको हो।

‘उहाँ महाधिवेशनयता नै पार्टी काममा सक्रिय हुनुहुन्न,’ एक पदाधिकारीले सेतोपाटीसँग भने, ‘उहाँलाई पार्टी महासचिव शंकर पोखरेलले सोधपुछ गर्नु हुने छ।’

मणि थापा पार्टी नेतृत्वसँगै असन्तुष्ट रहेपछि पार्टीको जिम्मेवारीमा बिदा जनाएर बसेका छन्। उनले फागुनमा सुरू भएको ‘मिसन ग्रासरूट’ अभियान अगाडि नै आफू बिदामा बस्न चाहेको बताएका थिए।

सेतोपाटीसँगको कुराकानीमा पनि उनले पार्टीको जिम्मेवारीमा फर्कने मुड नरहेको बताएका थिए।

यसैबीच एमालेले पूर्वसांसद रहेकी केन्द्रीय सदस्य तथा तारादेवी राईलाई पनि सोधपुछ गर्ने निर्णय गरेको छ।

‘उहाँहरूलाई स्पष्टीकरण होइन, सोधपुछ गर्ने निर्णय भएको हो। पार्टीमा फर्कन मन भए जिम्मेवारी दिने नभए बिदा दिने निर्णय भएको छ,’ ती नेताले भने।

काठमाडौं महानगरपालिकाका मेयरका प्रत्यासी केशव स्थापितले पनि पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीबाट आफूले बिदा लिन चाहेको जानकारी नेतृत्वलाई गराएका थिए। त्यहीअनुसार हिजो बसेको सचिवालय बैठकले उनलाई बिदा दिने निर्णय गरेको छ।

उनीसँगै सिराहाका केन्द्रीय सदस्य प्रमोदनारायण यादवलाई बिदा दिने निर्णय एमालेले गरेको छ। यादवले पनि जिम्मेवारीबाट बिदा मागेको एमालेले बताएको छ।