साझेदारी गर्नुहोस्

बनेपा नगरपालिका वडा नम्बर-१३ स्थित अरनिको राजमार्गअन्तर्गत भैंसेपाटीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान १०:२० बजेतिर बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२-०३४ प ११६७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०३-००१ ख १५८६ नम्बरको ट्रकमुनि छिर्दा धुलिखेल नगरपालिका वडा नम्बर ८ बस्ने २१ वर्षीय अभिषेक न्यौपानेको मृत्यु भएको हो ।

गम्भीर घाइते अवस्थामा न्यौपानेलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहान ११ बजेतिर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।