साझेदारी गर्नुहोस्

एमालेको प्राथमिकता सरकारमा जानु नरहेको अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । उनले अहिले एमालेले सत्तामा जानका लागि बोलिरहेको रुपमा नबुझ्न आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आइतबार पत्रकार सम्मेलन गर्दै ओलीले पार्टीले सत्तातिर नहेरेको बताए ।

एमालेलाई तत्कालका लागि सत्तामोह नरहेको ओलीको भनाइ थियो । ‘एमालेलाई अहिले सत्ता मोह, सत्ता लोलुपता छैन । हामीलाई सत्तातिर हेर्नु पनि छैन । तर, यसको अर्थ सरकारले हामीले हेरेको छैन भनेपछि ‘ए ढुक्कै रहेछ नि त जे गरे पनि हुन्छ’ भन्ने कुरा चल्दैन । जे पनि गर्न पाउँदैन,’ उनले भने ।

मुलुकको अर्थतन्त्रको अवस्था कमजोर रहेको व्यवसायी सडकमा आउनुपरेको ओलीको भनाइ छ । उनले एमालेको चिन्ता देश र अर्थतन्त्रको रहेको बताए । ‘एमालेलाई सरकारमा रुचि होइन । चिन्ता सरकारको होइन, देशको हो । देशको अर्थतन्त्रको हो । जनताको सामाजिक, दैनिकीको हो । कुन अवस्थामा देश पुगेको छ ? उद्योगधन्दा के भइरहेका छन् ? आज निर्माण व्यवसायी गिरफ्तार गरिन्छन्, उनीहरूका भनाइ कसैले सुन्दैन । निर्माण व्यवसायी सडकमा आउनुपर्ने अवस्था सरकारले गरेको हो,’ उनले भने ।