साझेदारी गर्नुहोस्

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् चलाउन खोजेको दाबी गरेका छन् । उनले संसद् अवरोध एमालेले नगरेको बताए । साउन १० यता संसद्को बैठको बेलमा गएर अवरुद्ध गरिरहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा पत्रकार सम्मेलनमा ओलीले संसद् चलाउन खोजेको दाबी गरेका हुन् ।

सत्तापक्षले संसद् चल्न नदिएको ओलीको दाबी छ । ‘संसद् अवरोध हुनै हुँदैन, गर्नै हुँदैन । संसद् देश र जनताका लागि काम गर्ने थलो हो । संसद्ले निर्वाध ढंगले काम गर्न पाउनुपर्छ ।

संसद्ले देश र जनताका पक्षमा बोल्ने, आवाज उठाउने हो,’ उनले भने, ‘अहिलेको संसद्‌को अवरोध तपाईंहरूले देख्नुभएको छ । हामी चलाउन खोजिराख्या छौं । तर, प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै सत्तापक्ष जुरुक्क उठेर होहल्ला गर्ने ।’

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै संघीय संसद्का दुवै सदनको काम कारबाहीमा अवरोध गरिरहेको बताउँदै अध्यक्ष ओलीले थपे, ‘संसद् अवरोध हामीले गरेको होइन ।’

सुन तस्करीले देशलाई अप्ठ्यारोमा पारेको उनले बताए । मुलुकको अर्थतन्त्र, सुशासन, प्रशासनमाथि प्रहार भइरहेको ओलीको भनाइ छ ।