साझेदारी गर्नुहोस्

शैल्यशिखर नगरपालिका– ४ की ७२ वर्षीया मानमति भट्टलाई सामाजिक सुरक्षा भत्ता थाप्न कम्तीमा सात घन्टा पैदल हिँड्नुपर्छ। उनलाई बिहानको झिसमिससँगै सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका केन्द्र गोकुलेश्वर पुग्न सास्ती हुने गरेको छ।

घरबाट गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म पुग्न ओरालो तीन घन्टा हिँड्नुपर्छ। तर, घर फर्किँदा भने उकालो हिँड्न चार घन्टा लाग्छ। बर्खाको वेला चिप्लो बाटोमा आवतजावत गर्न समस्या छ। कहिले समयमै काम हुन्छ त कहिले समय लाग्छ। समयमै काम हुँदा साँझ टर्च बालेर हस्याङफस्याङ गर्दै घर पुग्छिन् उनी। अबेर भए तल गाउँमै बसेर भोलिपल्ट बिहान घर फर्किन्छन् उनी।

भत्ता लिन उनका छोरा नारायण भट्टले बोकेर ल्याए । ‘बिहान ५ बजे घरबाट हिँडेर भत्ता लिन गोकुलेश्वर पुगेँ,’ उनले भने, ‘वृद्ध आमालाई बोेकेरै ल्याउनुपरेको छ।’ गाउँसम्म सडक पहुँच र बैंक नहुँदा यो समस्या भएको हो। दोगडाकेदार क्षेत्रबाट नजिकको बैंक दार्चुलाको शैल्यशिखरमा छ ।

‘भत्ता लिन आउने दिन बिहान ५ बजे घरबाट निस्कनुपर्छ,’ अर्का वृद्ध दौलतसिंह कुँवरले भने, ‘बिहान बैंक खुल्नुअगावै नपुगे यहाँ पनि लाइनमै कुर्नुपर्छ।’ गाउँमै भत्ता वितरण हुने अवस्था आए वृद्धवृद्धाहरूले दुःख नपाउने उनको भनाइ छ। बुढेसकालमा हिँड्दा पनि शरीर दुख्ने गर्छ। यसरी घन्टाैँ पैदल हिँडेर भत्ता लिनेहरू साह्रै कष्टकर यात्रा गर्नुपरेको अनुभव सुनाउँछन्।

सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत दिन थालेपछि हरेक स्थानीय तहका केन्द्रमा बैंकका शाखा खुलेका छन्। तर, पहाडी जिल्लाका दुर्गम गाउँमा बसोवास गर्ने नागरिकलाई स्थानीय तहका केन्द्रसम्म पुगेर भत्ता थाप्न अझै घन्टाैँ पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको छ।

बुढेसकालमा लौरोको सहारामा घन्टाैँ हिँड्दा हैरान खेप्नुपरेको वृद्धवृद्धा गुनासो गर्छन्। ‘उमेरले डाँडा काटेपछि हिँडडुल गर्न कठिन हुन्छ। बुढेसकालको सहारा बनेको भत्ता थाप्न लौरो टेकेर हिँड्नैपर्ने कर छ,’ शैल्यशिखर– ४ की पार्वती भट्टले भनिन्।

स्थानीय तह आउनुभन्दा अघि वडासचिवले घरघरमै लगेर बाँड्ने गरेका थिए। कतिपय वडामा पायक पर्ने ठाउँमा जम्मा गरेर पनि बाँड्ने गरिन्थ्यो। हाल स्थानीय तह आएपछि बैंकमार्फत भत्ता दिने गरिएको हो।

यसरी बैंकमार्फत सम्बन्धित व्यक्तिको बैंक खाता खोलेर भत्ता दिने सुनिश्चित गरिए पनि दुर्गम ठाउँका नागरिकले भने अझै सास्ती खेप्नुपरेको स्थानीयवासी सुनाउँछन्।

शैल्यशिखर– ४ का वडाध्यक्ष रामसिंह ठगुन्ना वृद्धवृद्धालाई सास्ती नहोस् भन्नका लागि कतिपय वेला चेकमा दस्तखत गराएर सम्बन्धित वृद्धवृद्धाको नजिकको मान्छेलाई सिफारिस पठाएर पनि चेक साट्न लगाएको सुनाउँछन्।

‘हामीले सक्ने प्रयास गरेका छौँ। तर, भौगोलिक विकटता र सडक पहुँच नहुँदा अझै केही समय वृद्धवृद्धालाई हिँडडुलमा समस्या हुने अवस्था देखिएको छ,’ उनले भने । बैंकहरूलाई दुर्गम क्षेत्रमा घुम्ती रूपमा भत्ता वितरणका लागि नगरपालिकासँग पहल भइरहेको उनले बताए।