साझेदारी गर्नुहोस्

हेलिकप्टर व्यवसायीहरूले उडानको लागि इनरूट (विमान उडानदेखि अवतरण गर्ने गन्तव्यसम्मको मार्ग) को मौसमबारे जानकारी नपाएको भन्दै गुनासो गरेका छन्।

पछिल्लो केही वर्षयता मौसमको जानकारी नपाउँदा हेलिकप्टर दुर्घटनाको जोखिम बढेको व्यवसायीहरूले बताएका हुन्।

वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाका अनुसार मौसमको जानकारी दिनकै लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीसँग प्रतिउडान १० डलरका दरले शुल्क लिन्छ। तर इनरूट मौसमबारे कुनै पनि जानकारी नदिइने गुनासो उनले गरे।

‘मौसमको जानकारी दिन भनेर प्राधिकरणले हरेक उडानको १० डलर लिन्छ। तर उडान गर्ने गन्तव्य तथा अवतरण गर्ने गन्तव्यको मौसमबारे मात्र जानकारी दिन्छ,’ क्याप्टेन थापाले भने, ‘इनरूटबारे जानकारी नहुँदा दुर्घटना जोखिम बढेको छ। यसतर्फ नियामक निकायको ध्यान छैन।’

प्राधिकरणले जल तथा मौसम विभागमार्फत एयरलाइन्स कम्पनीहरूलाई विमानस्थलको मौसमबारे जानकारी दिँदै आएको छ। यही सूचनाका आधारमा एयरलाइन्स तथा हेलिकप्टर कम्पनीहरूले विभिन्न गन्तव्यमा उडान गर्छन्। तर इनरूटको जानकारी नपाउँदा कतिपय समयमा उडान क्रममा हेलिकप्टर बादलभित्र पसेर दुर्घटना हुने गरेको क्याप्टेन थापा बताउँछन्।

अघिल्लो महिनाअघि भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाको प्रारम्भिक अध्ययनअनुसार मौसम खराबीका बेला उडान गरेको कारण देखिएको छ। जसका कारण प्राधिकरणले आगामी सेप्टेम्बरसम्म ‘माउन्टेन फ्लाइट’ र ‘सिलिङ’ उडानमा प्रतिबन्ध लगाएको छ।

व्यवसायीहरूले भने उडान प्रतिबन्ध लगाउनेभन्दा मौसमको सही सूचना दिने खालका संयन्त्र विकासमा प्राधिकरण लाग्नुपर्ने बताएका छन्।

संघका महासचिव मनोज कार्कीले पनि उडान र अवतरण गन्तव्यसम्मको मौसमबारे जानकारी दिने संयन्त्र नहुँदा हेलिकप्टर उडान जोखिममा रहेको बताए। उनका अनुसार हेलिकप्टर उडानका लागि सामान्यतया ९ देखि १४ हजार फिटको उचाइको जानकारी चाहिन्छ।

‘तर विभागले २१ हजार फिट माथिको बारेमा मात्र जानकारी दिन्छ। त्यो हामीलाई आवश्यक नै छैन,’ उनले सेतोपाटीसँग भने, ‘इनरूटको मौसमबारे जानकारी दिनलाई किन लगानी गर्दैन प्राधिकरण? वायुसेवा कम्पनीसँग हरेक उडानमा पैसा उठाउने अनि चाहिएको सूचना चाहिँ नदिने?’

अहिले एयरलाइन्स तथा हेलिकप्टरले सम्बन्धित विमानस्थल र गन्तव्यमा रहेका आफ्ना कर्मचारीहरूको सहयोगमा त्यस क्षेत्रको मौसमबारे जानकारी लिएर उडान गरिरहेका छन्।

‘यही जानकारी पाउन यता डलर तिर्नुपर्छ। उता हरेक जिल्लामा कर्मचारी राख्नुपर्छ। अनुभव नै नभएका व्यक्तिले आँखाले हेरेको भरमा हामीलाई जानकारी दिन्छन्। त्यसकै भरमा हामीले उडान गर्नुपर्ने बाध्यता छ,’ महासचिव कार्कीले थप भने।

कतिपय समयमा दुवैतिरको विमानस्थलले मौसम अनुकूल रहेको जानकारी दिन्छ। हेलिकप्टर उड्ने रूटको अवस्था के कस्तो छ भन्नेबारे जानकारी हुँदैन। नेपालको जस्तो जलवायु भएको ठाउँमा उडान गर्ने र अवतरण गर्ने दुई विमानस्थलको बीचको रूटको मौसमबारे पनि जानकारी हुनपर्छ। तर यस्तो नभइरहेकाले बीचमा विमान वा हेलिकप्टर हराउने जोखिम बढेको कार्कीको भनाइ छ।

‘विमानस्थलको मात्र जानकारी दिएर उडान सुरक्षित हुँदैन,’ उनले भने, ‘यसका लागि सम्बन्धित रूटको भिजिबिलिटी के छ, इनरूटमा बादल छ कि छैन भन्ने जानकारी चाहिन्छ। यी विषयमा नियामक निकायले ध्यान दिएको छैन।’

प्राधिकरण पनि इनरूटको मौसमबारे जानकारी दिने संयन्त्र आफूसँग नभएको स्वीकार गर्छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबीच समन्वय मात्रै हुने बताए।

‘मौसमको जानकारी दिन प्राधिकरण र विभागबीच सम्झौताअनुसार काम भइरहेको छ,’ उनले भने, ‘विभागसँग जेजे संयन्त्र छ त्यहीअनुसार जानकारी दिने भनेर सम्झौता भएको हो। विमानस्थलमा उडान र अवतरणका लागि मौसमको जानकारी दिन्छ तर इनरूटको जानकारी दिने कुनै संयन्त्र छैन।’

उनका अनुसार विभागले विमानस्थल वरपरको करिब दस किलोमिटर क्षेत्रको मौसमबारे मात्र जानकारी दिन्छ।

हाल मुलुकभर ३४ वटा विमानस्थल सञ्चालनमा छन्। यीमध्ये काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी गरी दसवटा विमानस्थलको मौसमबारे विभागले जानकारी दिइरहेको छ।

बाँकी विमानस्थलमा विभागले दिएको जानकारीका भरमा एयर ट्राफिक कन्ट्रोलर (एटिसी) ले जानकारी दिइरहेको उनले बताए।

पछिल्लो समय हवाई दुर्घटना बढेपछि प्राधिकरणले विभागलाई इनरूटको जानकारी दिने संयन्त्र विकास गर्न अनुरोध गर्दै आइरहेको भुलले बताए।

‘हरेक दुर्घटनापछिको छानबिन आयोगले पनि दुर्घटनाको कारण इनरूट मौसमबारे जानकारी नहुनु नै देखाइरहेको छ। प्राधिकरणले लामो समयदेखि विभागलाई धेरैपटक यसका लागि संयन्त्र विकास गर्न अनुरोध गर्‍यो,’ उनले भने, ‘विभागले इनरूट जानकारी दिने व्यवस्था लागू गर्न नसकेपछि प्राधिकरण आफैंले सुरू गर्न लागेको छ।’

उनका अनुसार प्राधिकरणले राष्ट्रिय आविस्कार केन्द्रसँग समन्वय गरी पाइलट प्रोजेक्टका रूपमा पोखरा-जोमसोम रूटमा तीनदेखि पाँचवटा क्यामरा राख्ने काम अघि बढाएको छ। आगामी दिनमा डोल्पा, लुक्ला, सिमकोटलगायत दुर्गम ठाउँमा पनि क्यामरा राखेर हवाइ उडान थप सुरक्षित बनाउने तयारी छ।

यसअघि लुक्ला गन्तव्यमा धेरै दुर्घटना हुन थालेपछि जापानी निकाय ‘जाइका’ को सहयोगमा प्राधिकरणले क्यामराहरू जडान गरेको थियो। ती क्यामरा प्रयोगका लागि सम्बन्धित वायुसेवा कम्पनीले शुल्क तिर्नुपर्ने भएपछि कम्पनीहरूले उक्त सेवा नलिएको उनले बताए।

पछि तारा एयरले काठमाडौं-लुक्लामा क्यामरा राख्यो। अहिले यो गन्तव्यमा भने यही क्यामराअनुसार उडान भइरहेको छ।

निजी क्षेत्रका वायुसेवा कम्पनीले आफैं क्यामरा जडान गरी इनरूट मौसमबारे जानकारी लिन थालेपछि प्राधिकरण पनि पछिल्लो समय मौसमसम्बन्धी जानकारी दिने क्यामरा जडानमा लागेको हो।