साझेदारी गर्नुहोस्

कैलालीको लम्किचुहा नगरपालिका–४ भल्का बस्ने मञ्जु रावल बेपत्ता भएको डेढ महिनापछि मृत भेटिएकी छन् । मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनमा मृत भेटिएकी रावलको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

हत्या आरोपमा ४ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर शंकर खड्काले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा मञ्जुकी सौता ४० वर्षीय गोम रावल, भतिज २४ वर्षीय भरत रावल, २२ वर्षीया वर्षा रावल र अछाम घर भएकी नातेदार ३७ वर्षीया सरिता रावल छन् ।

सौता, छोरी र भतिज मिलेर योजनाबद्ध रुपमा जंगला लगेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको इन्स्पेक्टर खड्काले बताए । उनी भन्छन्– ‘जंगलमा घाँटी च्यापेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।’

३३ वर्षीया मञ्जु जेठ २५ देखी सम्पर्क बिहिन थिइन् । आइतबार प्रहरीले सामुदायिक वनमा शव फेला पारेको थियो । राजमार्गबाट करिब १३ किलोमिटर भित्र जंगलमा बोलाएर आरोपितहरुले उनको हत्या गरेका हुन् ।

‘प्रेमको नाटक गरेर उनलाई बोलाएको देखिन्छ’ इन्स्पेक्टर खड्का भन्छन्–‘हामी थप अनुसन्धान गर्दै छौं ।’ अपरिचित युवकले उनलाई तिन महिना अघिदेखि प्रेमको जाल बिछ्याएको अनुसन्धानबाट थाहा भएको छ ।

सौतासँग उनको अंशमुद्दा चल्दै थियो । प्रेमको नाटक गर्ने युवक हत्या योजनाकार गोमा रावलसँग मिलेको थाहा भएको छ । मञ्जुको नामको अंश र जग्गा जमिन लिनका लागि उनको हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।