अबदेखि नेपालीले भारतका सीमावर्ती बजार जान अनिवार्य रूपमा परिचयपत्र बोक्नुपर्ने भएको छ । सुरक्षालाई मध्यनजर गर्दै सीमाक्षेत्र भएर आवतजावत गर्ने नेपाली वा भारतीय नागरिकले अनिवार्य रूपमा परिचयपत्र लिएर हिँड्नुपर्ने भएको हो ।
भारतीय सुरक्षाकर्मीले परिचय खुल्ने कागजात हेरेर मात्र जान दिने गरेको स्थानीय बासिन्दाले बताएका छन् । गौरका स्थानीय व्यापारी जितेन्द्र साहले पहिलाजस्तो परिचयपत्रविना भारत जान सुरक्षाकर्मीले रोक लगाएको बताए ।
पछिल्लो समय भारतीय सञ्चारमाध्यममा चर्चामा रहेकी पाकिस्तानी महिला सीमा हैदर महोत्तरीको भिठामोड नाका हँुदै भारत प्रवेश गरेर बिहार हुँदै उत्तरप्रदेशको नोयडा पुगेपछि रौतहटको सीमामा तैनाथ भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले कडाइ गर्दै परिचयपत्र हेरेर मात्रै आवतजावत गर्न दिएको हो । मधेस प्रदेशसहित नेपालको सीमा जोडिएका सबै नाकामा एसएसबीले सीमाक्षेत्रमा आवतजावत गर्ने नेपालीसँग नागरिकता र भारतीयसँग आधार कार्ड खोज्न थालेका छन् । परिचय खुल्ने कागजात नदेखाए आवतजावत गर्नमा रोक लगाएका हुन् ।