साझेदारी गर्नुहोस्

बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा रिफर गरिएका एक जना बिरामीको मृत्यु भएको छ ।

 

उच्च रक्तचापको समस्या जटिल देखिएपछि रिफर गरिएका मुगुका विर्खलाल कार्कीको स्वास्थ्य केन्द्रमै मृत्यु भएको कार्यालय प्रमुख डाक्टर प्रतिक न्यौपानेले बताएका हुन् ।

 

 

 

कार्कीको थप उपचारका लागि नेपालगञ्ज वा धनगढीमध्ये सिटी स्क्यानसहितको सुविधा भएको अस्पतालमा रिफर गरिएको थियो । र, आफन्तले ६० वर्षीया कार्कीलाई उपचारका लागि लैजानका लागि जहाज आउने पर्खिरहेका थिए ।

 

मार्तडी कोल्टी र कर्णाली करिडोरको सडक बाटो बर्षाका कारण बिग्रिएर अवरुद्ध भएपछि आफन्त जहाज नै विकल्प रोजेका थिए । तर, रिफर गरिएको दुई दिनसम्म पनि जहाज नआएपछि आफन्तले हेलिकप्टरको समेत जोहो गर्ने प्रयास गरेका थिए ।

 

सडक बाटो सम्भव नभएपछि जहाजको बाटो कुर्दा पनि नआएको र हेलिकप्टरसमेत मौसमका कारण नआउने अवस्था भएपछि कार्कीको प्राथमिक स्वास्थ्य केन्द्रमै ज्यान गएको हो ।