साझेदारी गर्नुहोस्

मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिंगापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका ५७ वर्षीय मोहम्मद अजिज बिन हुसेनलाई मृत्युदण्ड दिएको छ।

कोरोना महामारीका वेला स्थगन गरिएको मृत्युदण्डको सजायलाई गत वर्षदेखि पुनः थालिएको छ। यो वर्ष कार्यान्वयन गरिएको यो १४ कठोर सजाय हो। ५० ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएका उनलाई चंगी जेलमा आज मृत्युदण्ड दिइएको केन्द्रीय लागुऔषध नियन्त्रण विभागले एक विज्ञप्ति निकालेर जनाएको छ।

अधिकारवादी संगठन ट्रान्सफर्मेटिभ जस्टिस कलेक्टिभ (टिजेसी) र एमनेस्टी इन्टरनेसनलले निर्धारित मृत्युदण्ड रोक्न गरेको आग्रहको बेवास्ता गर्दै उनको प्राण हरण गरिएको हो। राष्ट्रपतिसमक्ष गरिएको क्षमायाचनाको अपिल पनि अस्वीकार भएको थियो।

यसैगरी, तीस ग्राम हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी ४५ वर्षीया सरिदेवी जामानीलाई शुक्रबार फाँसी दिइनेछ। सन् २०१८ मा उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । सिंगापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिन लागेको हो। २० वर्षअघि कपाल काट्ने एक महिलालाई यस्तै अपराधमा मृत्युदण्ड दिइएको थियो।

सिंगापुरले लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको टिप्पणी एमनेस्टीले गरेको छ। विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागुऔषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अंगीकार गरिरहेको परिप्रेक्ष्यमा सिंगापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको एमनेस्टीले बताएको छ।

कोभिड– १९ को महामारीमा दुई वर्षको अन्तरालपछि सरकारले फाँसीको सजाय पुनः कार्यान्वयन गरेपछि कम्तीमा १३ जनालाई फाँसी भइसकेको छ।