साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाल तस्कर र भ्रष्टहरुका लागि स्वर्ग हुन थालेको भन्दै भ्रष्टाचार काण्डहरूमाथि शक्ति सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने माग गरेका छन् । केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै उनले देश संकटको चक्रव्यूहको पासोमा परेको बताए ।

नेपाल तस्कर र भ्रष्टहरूको स्वर्ग हुन थालेको छ । नेपाल गम्भीर संकटको चक्रव्यूह वा संकटको पासोतिर उन्मुख छ । भ्रष्टाचारको बाढी, ऋणको भारी र शक्तिराष्ट्रका द्वन्द्वको चक्रव्यूहतिर हाम्रो भूभाग धकेलिँदैछ,’ केसीले भने, ‘विधिविहीनता, भ्रष्टाचार, दण्डहीनता र कुशासनको दुष्चक्रले राष्ट्रका सम्पूर्ण अंगहरूलाई क्षतविक्षत बनाएको छ

। अर्थतन्त्रमा नै गम्भीर क्षति पुर्‍याइरहेका आजसम्मका भ्रष्टाचारकाण्डहरू उपर सर्वोच्च शक्तिसम्पन्न न्यायिक आयोग गठन गर्न र हाम्रै नेतृत्वको सरकारले गरोस् भन्ने प्रस्ताव राखेको थिएँ ।’

उनले ललितानिवास र नक्कली भुटानी शरणार्थी काण्डमा मौनताले पार्टी क्षतिग्रस्त बनाउने बताए । ‘भर्खरै त्रिभुवन विमानस्थलबाट रहस्यमय रुपले निकालिएको तर बरामद भएको एक क्विन्टल सुनमा भएका हातहरूका बारेमा कौतुहलमय सनसनी उब्जेको छ ।

यसका भरियालाई मात्र पक्राउ गरेर यसको पछाडि रहेका शक्तिकेन्द्रलाई जोगाउने धृष्टता नहोस् । भनाइ छ, पछाडि फर्केर हेरे अनुभव पाइन्छ, अगाडि हेरे आशा देखिन्छ, वरिपरि हेरे यथार्थ पाइन्छ, अनि स्वयंभित्र हेरे आफैंलाई पाइन्छ,’ उनले भने ।