नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको बैठकमा उठाउनुपर्ने एजेन्डाहरुबारे सुझाव मागेका छन् । महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत् पार्टीका कार्यकर्ता, शुभेच्छुक र आमनागरिकहरुलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुनुपर्छ भन्ने लागेका विषयहरुलाई एजेन्डा बनाउन सल्लाह र सुझावहरु लेखी पठाउन सार्वजनिक आग्रह गरेका हुन् ।
प्रमुख सत्तासीन दल कांग्रेसले एक वर्षपछि आगामी मंगलबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलेर हाल पुर्पक्षमा रहेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कांग्रेसको पार्टी सदस्यबाट निलम्बन गर्नुपर्ने विषय एजेन्डा बन्ने वा नबन्ने भन्ने विषय अन्योलमा छ । महामन्त्री थापासहित केही नेताहरु खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमा छन् ।
तर सभापति शेरबहादुर देउवाले भने खाँणलाई पार्टीबाट निलम्बन गर्ने विषयमा बैठकमा छलफल गर्न इन्कार गर्दै आएका छन् । यसअघि २७ असारमा बोलाइएको बैठकमा खाँणलाई निलम्बन गर्ने प्रस्ताव औपचारिकरुपमा पेश नहुने गरी तयारी भएको थियो । त्यसबारे कांग्रेसमा छलफल समेत नहुने गरी नेताहरुबीच समझदारी बनेको भन्ने समाचार आएपछि कांग्रेस नेताहरु दबाबमा परेका छन् ।
बैठकका एजेन्डाबारे चारतिरबाट प्रश्न उठिरहेकै बेला २७ असारको बिहान प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको निधनले कांग्रेस बैठक सर्यो । त्यसपछि महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत् आफ्नो इमेलमा कांग्रेस बैठकमा समेट्नुपर्ने एजेन्डाबारे सल्लाह र सुझाव लेखी पठाउन आह्वान गरेका हुन् ।