साझेदारी गर्नुहोस्

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले तोकिएको समयमा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई कुनै जवाफ दिएनन्।

पर्यटनमन्त्री सुदन किरातीले गत मंगलबार महानिर्देशक अधिकारीको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै ९ बुँदे स्पष्टीकरण सोधेका थिए।

मन्त्री किरातीले उक्त स्पष्टीकरणको जवाफ सात दिनभित्र मागेका थिए।

लगात्तै महानिर्देशक अधिकारीले मन्त्रालयको पत्रमा अत्यन्त जरुरी वा गोप्य पत्र भनि लेखेर सोध्नु पर्ने स्पष्टीकरण सामाजिक सञ्जाल फेसबुकका पानामा पोष्ट गरिएकाले ती स्पष्टीकरणको जवाफ आफूले दिन नसक्ने बताएका थिए।

‘फेसबुकका भित्तामा पोष्टिएका स्पष्टीकरणको जवाफ मैले दिँदैन, स्पष्टीकरण सोध्ने पनि नियम, कानुन र तरिका होला नी, फेसबुक भरी सोधिएका स्पष्टीकरणको मैले कसरी जवाफ दिनु?’ उनले सोधेका थिए।

स्पष्टीकरणको जवाफ नदिने अडान लिएका महानिर्देशक अधिकारीले सोमबार सामाजिक सञ्जालमा नागरिक उड्डयन प्राधिकरण स्वायत्त निकाय रहेको समेत उल्लेख गरेका थिए।