साझेदारी गर्नुहोस्

सत्तारुढ र प्रमुख प्रतिपक्षी लगायत दलले संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउने सहमति गरेका छन् । सभामुख देवराज घिमिरेले मंगलबार बोलाएको सर्वदलीय समिति बैठकमा मुख्य दलका नेताहरुले अब सभापति चयन प्रक्रियामा बिलम्ब नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

सभापति चयन नहुँदा संसदीय समितिहरुले काम गर्ने नसकेपछि सभामुख घिमिरे दलहरुलाई घच्घच्याउन बैठक बोलाएका थिए । बैठकमा सभामुख घिमिरे संसदीय समितिको नेतृत्व चयनमा ‘तपाईंहरूबीच कुनै समझदारी हुन्छ कि निर्वाचन प्रक्रिया अघि बढाऊँ ?’ भन्दै शीर्ष नेताहरुलाई सोधेका थिए ।

‘सभापति चयनबारे प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको छ मैले सकेसम्म समझदारी होस् नभए अब प्रक्रिया अघि बढ्छ भनेको छु,’ बैठकपछि सभामुख घिमिरेले भने ।

कानुन तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सभापति चयनबारे सबै दलका प्रमुख सचेतकहरुसँग छलफल गरेर चाँडै प्रक्रियाअघि बढाउने सहमति भएको जानकारी दिए । उनले सबै दलहरु संसद्‌मा मिलेको सन्देश दिन सभापति चयनमा विगतको सहमतिलाई कार्यान्वयन गर्ने जोड दिने बताए । ‘पुरानो सहमतिअनुसार अघि बढ्न हामी तयार छौैं,’ मन्त्री गुरुङले भने ।