साझेदारी गर्नुहोस्

फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा दुई जना कारबाहीमा परेका छन्।

काठमाडौंबाट दुबईका लागि उडेको एफडीजेड ५७६ जहाजमा चरा ठोक्किएको भन्दै भ्रम फैलाएको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको हो।

फ्लाइ दुबईले भने ट्वीट गर्दै सम्भवतः चरा ठोक्किएको हुन सक्ने बताएको थियो। प्राधिकरणले भने भौतिक रुपमा गरेको निरिक्षणबाट चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको बताएको छ।

प्राधिकरणले भ्रमपूर्ण समाचार फैलाएको भन्दै फ्लाइ दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरको एयरपोर्ट पास निष्कृय पार्ने निर्णय गरेको जनाएको छ।

प्राधिकरणले भनेको छ ‘हिजो रातिको फ्लाई दुबई फ्लाइट नम्बर एफडिजेड ५७६ काठमाडौं-दुबई उडानमा चरा ठोक्किएको भनेर भ्रमपूर्ण समाचार फैलाएकाले फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाई उनीहरूको एयरपोर्ट पास समेत निष्क्रिय पारिएको छ,’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गए राति उडेलगत्तै फ्लाई दुबईको जहाजबाट ठूलो आवाजसहित आगोको झिल्का देखिएको थियो। विमानचालकले फ्लाई दुबईको जहाज धादिङको धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाइ ‘होल्ड’ गरेर विमानको सबै इन्डिकेटरको चेकजाँच गरेपछि थप समस्या नदेखिएकाले उडानलाई निरन्तरता दिने निर्णय लिएका थिए।

विमानस्थलको टावरका एटिसीले पनि उक्त जहाजलाई गन्तव्यतर्फ उड्न अनुमति दिएका थिए। प्राविधिक समस्या देखिएको उक्त जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको फ्लाई दुबईले जनाएको छ।