मंगलबार १०६ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पुसयता कोरोना संक्रमणबाट भएको पहिलो व्यक्तिको मृत्यु हो ।
२८ चैतमा मृत्यु भएका ७८ वर्षका पुरुषले खोप त लगाएका थिए, तर उनी मधुमेहका बिरामी थिए । उनको वीर अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भयो । मन्त्रालयका अनुसार संक्रमितको संख्या मात्र होइन, गम्भीर बिरामीको संख्या पनि बढेको छ ।
दुई हप्ता अगाडिसम्म देशभर आईसीयूमा भर्ना हुने संक्रमितको संख्या शून्य थियो । मंगलबार आईसीयूमा १३ र भेन्टिलेटरमा ५ उपचाररत छन् । चिकित्सकका अनुसार खोप नलगाएका र जटिल दीर्घरोग भएका मानिस कोरोना संक्रमणपछि अस्पताल भर्ना गर्नु परेको पाइएको छ ।
















