साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसले टीआरसी अर्थात बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गरेको छ । कांग्रेस संसदीय दलको आयोजनामा मंगलबार सिंहदरबारमा विज्ञहरुले कांग्रेस सांसदहरूलाई प्रशिक्षण दिइरहेका छन् ।

जसअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पूर्वसदस्य गंगाधर अधिकारीले आयोगबाट हालसम्म भएका र अब गर्नुपर्ने विषयमा प्रकाश पार्ने कार्यक्रम रहेको छ ।

यस्तै संवैधानिक कानुन व्यवसायी मञ्चका पूर्वअध्यक्ष राजु चापागाईँले ऐनमाथिको संशोधनको आवश्यकता र अन्तर्राष्ट्रिय सन्दर्भबारे केन्द्र्रित रहेर प्रशिक्षण दिँदा सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्वअध्यक्ष गणेशदत्त भट्टले आयोगले गरेका काम, अबको बाटो र कानुनमा अन्तर्राष्ट्रिय चासोबारे केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ ।

यसैगरी वरिष्ठ अधिवक्ता राधेश्वाम अधिकारी र कांग्रेस नेता डा मिनेन्द्र रिजालले संसदमा प्रस्तुत सशोधन विधेयकको आवश्यकताबारे प्रशिक्षण दिने कांग्रेसले जनाएको छ।

टीआरसीबारेको विधेयक संसदमा विचाराधीन रहेको अवस्थामा कांग्रेसले आन्तरिक छलफल गरेको हो ।