साझेदारी गर्नुहोस्

परालको आगो’ फेम्ड वरिष्ठ निर्देशक प्रताप सुब्बाको बिहीबार ७८ वर्षको उमेरमा निधन भएको छ । भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमका अनुसार सिलीगुडीस्थित एक अस्पतालमा उनको निधन भएको हो । उनी पहिलो नेपालीमूलका भारतीय फिल्म निर्देशक समेत हुन् ।

२०३५ सालमा रिलिज भएको परालको आगो निर्देशन गर्दै करिअर थालेका सुब्बाले बाँच्न चाहनेहरु, मसाल, कहीं अँध्यारो कहीं उज्यालो, दिदी, चट्याङ र भीष्म प्रतिज्ञा जस्ता व्यावसायिक र समीक्षात्मक रुपमा चर्चित नेपाली फिल्म निर्देशन गरेका छन् ।

नेपाली मौलिक फिल्मका प्रणेता मानिने सुब्बा निर्देशित परालको आगो नेपालबाहिर बनेको पहिलो मौलिक नेपाली फिल्म थियो । यसलाई साहित्यलाई अंगीकार गरिएको फिल्म मानिन्छ । निर्देशक तथा निर्माता नीर शाहका अनुसार सुब्बा बंगाली निर्देशक सत्यजित रे र मृणाल सेन स्कुल अफ थटका निर्देशक हुन् ।