साझेदारी गर्नुहोस्

बलात्कारको आरोप लागेपछि भारतबाट भागेका नित्यानन्दका प्रतिनिधि संयुक्त राष्ट्रसंघको एक समिति बैठकमा सहभागी भएका छन् । भारतीय सुरक्षा एजेन्सीको सर्वाधिक खोजीको सूचीमा रहेका नित्यानन्दका प्रतिनिधिले हालसालै राष्ट्र संघको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी समितिमा सम्बोधन गरेका हुन् । राष्ट्रसंघीय बैठकमा विजयाप्रिया नित्यानन्द र ईएन कुमारले सम्बोधन गरेका थिए ।

सन् २०१९ मा भारतबाट भागेका नित्यानन्दले त्यसको १ वर्षपछि ‘युनाइटेड स्टेट्स अफ कैलाश’ घोषणा गरेका थिए । यो दक्षिण अमेरिकी मुलुक इक्वेडरनजिकै भएको बताइन्छ ।
भारतीय सञ्चारमाध्यमहरूले पनि नित्यानन्दले इक्वेडरको कुनै टापु किनेर बसेको जनाएका छन् । उनीमाथि भारतको कर्नाटकमा बलात्कार र अपहरण तथा गुजरातमा यौन उत्पीडनको मुद्दा छ । आफूलाई प्रहरीले खोजी गरिरहेको थाहा पाएपछि नेपालको बाटो हुँदै इक्वेडर गएको इन्डिया टुडेले दाबी गरेको छ ।