साझेदारी गर्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको दाबी गरेका छन् । अध्यक्ष ओलीले एमालेको तर्फबाट सुवाष नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

आठ दलहरूबीच राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुनै पनि सहमति नभएको पनि अध्यक्ष ओलीको जिकीर थियो । सत्तारुढ गठबन्धन तलमाथि नभएकाले आफूहरुको उम्मेदवार नेम्वाङ अत्याधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने उनको दाबी छ ।
नेम्वाङलाई राष्ट्र र जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर राष्ट्रपति पदको उम्मेदवार बनाएको पनि उनले बताए ।
‘हामीले हाम्रो पार्टीको तर्फबाट र खासगरी नेपाली जनताकै तर्फबाट देशभक्त, लोकतान्त्रिक, सुशासन र विकासका पक्षधर शक्तिहरुको तर्फबाट अत्यन्तै अनुभवी, कानुनविद्, लामो समय सभामुख जस्तो गरिमामय पदमा रहेर जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नु भएका, संविधान निर्माणका संविधानसभा अध्यक्षको हैसियतले महत्वपूर्ण भूमिका पूरा गर्नु भएका सफल राजनीतिज्ञको रुपमा परिचित माननीय सुवाषचन्द्र नेम्वाङजीलाई आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको रुपमा उठाएका छौं ।

र, विधिपूर्वक हामीले यो उम्मेदवार उठाएका छौं,’ अध्यक्ष ओलीले भने ।
यस्तै आफूहरूले दलीय स्वार्थ नभएर राष्ट्रिय स्वार्थका लागि नेम्वाङलाई उम्मेदवार बनाएको पनि उनको भनाइ थियो । यसका लागि समग्र नेपाली जनता र सबै तर्फबाट सहयोग पाउने उनले विश्वास व्यक्त गरे ।