साझेदारी गर्नुहोस्

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरूले राष्ट्रपतिको चुनावमा अप्रत्यक्ष रूपमा भूमिका खेले पनि यस पटक भने प्रत्यक्ष रूपमा नै भूमिका खेलेको आरोप लगाएका छन् ।

बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन् । उनले शक्ति राष्ट्रहरूले यस पटक प्रत्यक्ष रूपमा आफ्नो देशको स्वार्थ अनुकूल राष्ट्रपतिका लागि भूमिका खेलिरहेको बताए । उनले यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको बताए ।

सांसद केसीले नेपालका सरकार प्रमुखहरू विदेशी शक्ति राष्ट्रका मानिसहरू आउँदा लम्पसार परेर उनीहरूको आशीर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेको दाबी समेत गरे ।

उनले भारतको सामान्य कर्मचारी आउँदा पूर्व प्रधानमन्त्रीहरूदेखि मन्त्रीहरू र राष्ट्रप्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको बताए । उनले भूगोलको हिसाबले राष्ट्र सानो, ठुलो भए पनि सार्वभौम सत्ता, भौगोलिक अखण्डताको हिसाबले राष्ट्र सानो, ठुलो नहुने उनले बताए ।