साझेदारी गर्नुहोस्

कामना सेवा विकास बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय दमकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेतसहित चार जनालाई पक्राउ गरेको डिएसपी दीलिप गिरीले जानकारी दिए।

उनीसँगै हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो। हरेन्द्र दाहाल र चन्द्रबहादुर थापा ऋणी हुन्।

डिएसपी गिरीका अनुसार उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरेको हो।

प्रहरीले जिल्ला अदालत झापाबाट म्याद थप गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ।

उनीहरूले बैंकबाट ऋण दिँदा थोरै धितो राखेको र राखेको धितो पनि भए/नभएको नखुलेपछि अनुसन्धान अघि बढेको थियो। ऋणीले जग्गा र उनीहरूले गरेको व्यवसाय नै धितोको रूपमा राखेका थिए।

नेपाल राष्ट्र बैंकबाट केन्द्रीय अनुसन्धान ब्युरोलाई यस सम्बन्धमा अनुसन्धान गर्न पत्र लेखेको थियो। ब्युरोले प्रारम्भिक रूपमा अनुसन्धान गरेर दमक शाखाको घटना भएकाले थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालयमा पठाएको थियो।

बैंकका निर्देशक विश्वेश्वर सुवेदीका अनुसार यसरी धितो कम राखेर ऋण प्रवाह गर्दा ४ देखि ५ करोडसम्म घाटा हुन आएको देखिन्छ।

‘बैंकले कर्जा लगानी गर्‍यो। लगानी गर्दा केही फाइलहरूमा मूल्यांकनभन्दा बढी प्रवाह गरेको देखियो। कर्मचारीले ऋणीसँग मिलेर गलत मूल्यांकन गरेको पायौं,’ उनले भने, ‘सञ्चालक समितिले छानबिन गर्दा पत्ता लागेपछि यी-यी व्यक्तिले हानी नोक्सानी पुर्‍याएको भनेर किटानी गरेर मुद्दा हालेका हौं।’