साझेदारी गर्नुहोस्

प्रहरीले बिचौलियाको आरोपमा महोत्तरीबाट पाँचजनालाई पक्राउ गरेको छ । जलेश्वरस्थित मालपोत र नापी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरीको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए ।

काम गराइदिने भन्दै विभिन्न बहानामा सेवाग्राहीलाई ठगी गरेको गुनासोहरु बढ्न थालेपछि यस्ता कार्य गर्ने बिचौलियाहरुलाई नियन्त्रणमा लिन सोमबारदेखि नै प्रहरीको विशेष टोली परिचालन गरिएको थियो । सोमबार नै जिल्ला प्रशासन कार्यालय अगाडीबाट चारजना र मालपोत कार्यालय अगाडीबाट एकजनालाई पक्राउ गरी छाडिएकोमा मंगलबारसमेत प्रहरीले थप पाँचजनालाई नियन्त्रणमा लिएको हो ।

मंगलवार पक्राउ परेकाहरुलाई अनुसन्धान गरी दोषी देखिए कानुनी प्रकृयामा जाने एसपी पंगेनीले बताए । सेवाग्राहीहरुको व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयबाट समेत बिचौलियाहरुमाथि निगरानी गर्न र भेटिए पक्राउ गर्न निर्देशन आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिलो दिनमा पक्राउ परेकाहरु मुद्दा नै चलाउने खालका नभएकाले सम्झाई बुझाई तथा विभिन्न सर्तका साथ छाडिएपनि अब पक्राउ पर्नेहरुलाई कडारुपमै कानुनी प्रकृयामा लग्ने प्रहरीको तयारी छ । जिल्लाका अन्य पालिकाहरुमा समेत प्रहरीले यस अपरेशनलाई जारी राखेको छ ।