साझेदारी गर्नुहोस्

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले पदका लागि मात्र राष्ट्रिय सहमतिको कुरा नगर्न आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले पदका लागि नभई देश संकटमा पर्दा राष्ट्रिय सहमति आवश्यक हुने प्रस्ट पारे ।

मधेसवादी दलहरूलाई बाहिर राखेर कस्तो राष्ट्रिय सहमति खोजिएको भनी प्रश्न गर्दै उनले अनुहार, जाति र समुदायभन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्न आग्रह गरे ।

‘यो राष्ट्रिय सहमति केका लागि हो ? जतिवेला पदको कुरा आउँछ, प्रधानमन्त्रीको पद होस् कि, सभामुखको पद होस् कि राष्ट्रपतिको पद होस्, त्यति वेलाका लागि मात्र राष्ट्रिय सहमतिको कुरा आउँछ कि देश संकटमा परेको वेलामा पनि यो राष्ट्रिय सहमतिको कुरा गरिने हो ?’ उनले प्रश्न गरे, ‘तराईमा शीतलहरले मान्छे मरिरहेका छन्, किसानले मलखाद पाएका छैनन्, देशको अर्थतन्त्र डुब्दो अवस्थामा छ, त्यसका लागि राष्ट्रिय सहमितको कुरा किन गरिँदैन ? त्यो पहिले स्पष्ट पारिदिनुहोला ।’

सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका सहिदहरूलाई सम्मान गर्न संसदमा एक मिनेट मौनधारण गर्न आग्रह गरेपछि संसदमा उपस्थित अधिकांश दल र सांसदहरूले एक मिनेट उठेर मौनधारण गरेका थिए ।