साझेदारी गर्नुहोस्

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपाली कांग्रेसकै कारण ०७४ सालमा राष्ट्रपति चयन सर्वसम्मत रूपमा हुन नसकेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ०७२ सालमा संविधान बनेपछि सर्वसम्मत रूपमा राष्ट्रपति चयन हुनुपर्ने भए पनि कांग्रेसकै कारण सर्वसम्मत हुन नसकेको बताए । इतिहास हेर्ने हो भने कांग्रेस सबैभन्दा बढी लाभ लिने र अरूलाई हस्तान्तरण नगर्ने दलको रूपमा रहेको भट्टराईको दाबी छ ।

‘२०७२ को संविधान बनाउँदा के भनिएको थियो, बनेपछि आज के भयो त्यो पनि सम्झिनुपर्छ । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी सर्वसम्मत चुनिनुभएको होइन । हाम्रो अपेक्षा सर्वसम्मत चुनिनुपर्छ भन्ने थियो । यसको हेक्का हुनुपर्छ, कसको कारणले भएन । त्यो वेला नै सर्वसम्मत हुनुपर्दथ्यो,’ उनले भने ।सांसद भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कांग्रेसलगायत सबै दलहरूले मुटुबाट विश्वासको मत दिएको भए सभामुखका उम्मेदवार देवराज घिमिरेलाई पनि निर्वाचित गर्न आग्रह गरे ।